पानीको बहाव बढेपछि सप्तकोसी किनारका बस्तीमा सतर्कता



सुनसरी, भदौ १४ । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदी किनारका बस्तीमा सतर्कता अपनाइएको छ।

सुनकोसीमा पानीको बहाव करिब १ दशमलव ५ मिटर बढेसँगै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सप्तकोसी किनारका बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराएको हो।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ६ बजे सप्तकोसी नदीको चतरामा १ लाख ९ हजार ४ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो। दिउँसो १२ बजे उक्त बहाव बढेर १ लाख २८ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ। पानीको बहाव बढेपछि कोसी ब्यारेजका १७ वटा ढोका खोलिएको छ।

यसैगरी, ब्यारेज क्षेत्रमा बिहान ६ बजे १ लाख ६० हजार ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएकोमा दिउँसो १२ बजे १ लाख ५२ हजार ६६० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको जनाइएको छ।

सुनकोसीसहित सप्तकोसीमा मिसिने सहायक नदीहरूमा पानीको मात्रा बढ्दै गएपछि वराहक्षेत्र नगरपालिका क्षेत्रअन्तर्गत नदी किनारका बस्तीमा महेन्द्रनगर इलाका प्रहरी कार्यालयले माइकिङ गरेको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार वराहक्षेत्र मन्दिरदेखि धरहराटप्पनसम्मको नदी किनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रहरीका अनुसार हालसम्म सप्तकोसी नदीमा पानीको बहाव जोखिमपूर्ण अवस्थामा पुगेको छैन। तर, माथिल्लो क्षेत्रमा भइरहेको वर्षाका कारण नदीको जलसतह थप बढ्न सक्ने भएकाले पूर्वसावधानी अपनाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो।

नदी किनारमा बसोबास गर्ने स्थानीयलाई नदीको अवस्था नियमित रूपमा नियाल्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा बाढीको सम्भावित अवस्था देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

कोसीमा जलसतह बढे पनि मधुवन, राजावास, प्रकाशपुरलगायत पूर्वी तटबन्ध क्षेत्रमा तत्काल खतरा नरहेको जनाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको