भोजपुर, भदौ १५। भदौरे मेला घुम्न गएका खोटाङका एक शिक्षकको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत ३९ वर्षीय शिक्षक भानुभक्त राईको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेलामा सहभागी हुन पुगेका राईको भदौ ११ गते राति कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरू सबै सुङ्देल गाउँकै रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
पक्राउ पर्नेमा सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार पक्राउ परेका सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको थियो। अदालतले थप अनुसन्धानका लागि उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा शिक्षक राई र आरोपितमध्ये केही व्यक्तिबीच पुरानो रिसिइबी रहेको खुलेको छ। सोही विवादका क्रममा कुटपिट हुँदा राईको मृत्यु भएको प्रारम्भिक निष्कर्ष रहेको प्रहरीले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटामा निम्न माध्यमिक तहमा कार्यरत भानुभक्त तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा जाने भन्दै गाउँबाट निस्किएका थिए। त्यस क्रममा उनी सालपापोखरी पुगेका थिए।
प्रत्यक्षदर्शीका अनुसार भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा शिक्षक राई र सुङ्देलकै निशान राईबीच विवाद भएको थियो। उनीहरूबीच यसअघि पनि पटक–पटक विवाद तथा झगडा हुँदै आएको स्थानीयको भनाइ छ।
मृतकका आफन्तले पुरानो विवादकै कारण निशान राईले योजनाबद्ध रूपमा कुटपिट गरेको आरोप लगाएका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
शिक्षक राईको हत्या भएको स्थान भोजपुर जिल्लामा पर्ने भएकाले घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाउनेछ। खोटाङ प्रहरीले आवश्यक समन्वय र सहयोग गर्ने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार भोजपुरमा भएको घटनाको अनुसन्धानमा आवश्यक सहयोग खोटाङबाट गरिनेछ।






