एजेन्सी, असोज ७। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग शान्ति सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै ट्रम्पले इरानलाई आणविक हतियार निर्माण गर्न नदिने अमेरिकी अडान दोहोर्याएका हुन्।
ट्रम्पले इरानलाई आर्थिक रूपमा अलग्याउन अन्य देशलाई अमेरिकासँग सहकार्य गर्न आह्वान गरेका छन्। आर्थिक दबाबमार्फत इरानलाई वार्ताको टेबलमा ल्याउने र सैन्य द्वन्द्वबाट बच्ने आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।
उनले अमेरिकासँग सम्झौता गरेर इरानको पुनर्निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गर्दै वार्ताबाट समाधान ननिस्किए कडा कदम चाल्ने चेतावनी दिएका छन्। ट्रम्पले इरानसँग भविष्यमा सम्झौता हुने सम्भावना रहेको पनि बताएका छन्।
ट्रम्पले आफ्नो सम्बोधनमा विश्वका विभिन्न द्वन्द्व अन्त्य गर्न अमेरिकी प्रयास भइरहेको दाबी गरे। साथै, रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि पनि आर्थिक दबाबको रणनीति प्रयोग गर्ने बताएका छन्।
सम्बोधनका क्रममा ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र संयुक्त राष्ट्रसंघको कार्यप्रणालीको समेत आलोचना गरे। उनले संयुक्त राष्ट्रसंघमा रहेका निर्वाचित नभएका अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाउँदै अमेरिकी योगदानमा कटौती गरिएको उल्लेख गरे।
यसैबीच, ट्रम्पको इरानसम्बन्धी सम्बोधन सुरु भएपछि संयुक्त राष्ट्रसंघको सभाकक्षमा रहेका केही इरानी प्रतिनिधि बाहिरिएको रोयटर्ससहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सामान्य बहस २२ देखि २८ सेप्टेम्बरसम्म न्युयोर्कमा सञ्चालन हुँदैछ।






