काठमाडौं, असोज ९ । देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा हुने भएको छ।
अभियानले बलियो राजनीतिक संगठनको आधार तयार गर्नुका साथै सक्षम र योग्य युवा नेतृत्व विकास गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार अभियानको घोषणा सभा शुक्रबार असोज ९ गते दिउँसो १ बजे काठमाडौंको थापागाउँ, नयाँ बानेश्वरस्थित काठमाडौं ब्यांकेटमा आयोजना हुँदैछ।
देश तथा मधेशमा विद्यमान राजनीतिक अवस्थाको विकल्पमा नयाँ राजनीतिक सोच, नेतृत्व र संगठन निर्माण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको आयोजकको भनाइ छ।
‘हुंकार मधेश’ले ‘ढुक्क हुनुस्, देश हामी नै बनाउँछौँ’ भन्ने नारासहित अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानमार्फत मधेशका मुद्दासँगै समग्र देशको राजनीतिक तथा सामाजिक परिवर्तनका विषयलाई प्राथमिकतामा राखिने आयोजकले जनाएको छ।
घोषणा सभामा अभियानको उद्देश्य, भावी कार्यक्रम तथा संगठन निर्माणको योजनाबारे जानकारी गराइने बताइएको छ।
आयोजकले नयाँ पुस्तालाई राजनीतिक नेतृत्वमा स्थापित गर्दै देश र मधेशका समस्या समाधानका लागि वैकल्पिक राजनीतिक धार निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ।






