सप्तरी, असोज १०। लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढदै खतराको सीमा पार गरेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि ढोका खोलिएको हो ।
पानीको सतह निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ । यससँगै सप्तकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएको थियो । दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएका थिए ।
वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
प्रशासनले नदीमा माछा मार्न, दाउरा संकलन गर्न तथा जोखिमपूर्ण क्षेत्रमा जानसमेत रोक लगाउँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन् । नदीको बहाव बढ्दै गएपछि ब्यारेज तथा आसपासको क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।






