कांग्रेस देउवा समूह धनुषामा सक्रिय, आफूहरू नै आधिकारिक पक्ष भएको दाबी



जनकपुरधाम, असोज १० । नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर समूहबीच १५औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको समूह धनुषामा सक्रिय भएको छ ।

संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै देउवा समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको हो । समूहले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने भन्दै वडा तहदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।

देउवा समूह महाधिवेशन आयोजक समिति धनुषाले शनिबार पत्रकार सम्मेलन गर्दै आफूहरूले अघि बढाएको महाधिवेशन नै आधिकारिक रहेको दाबी गरेको हो ।

आयोजक समिति धनुषाका संयोजक कोमलकान्त झाले नेपाली कांग्रेसको आधिकारिक १५औँ महाधिवेशन असोज १५ गतेदेखि सुरु हुने दाबी गरे । उनका अनुसार १४औँ महाधिवेशनबाट जिम्मेवारी पाएको केन्द्रीय समिति नै १५औँ महाधिवेशनका लागि आधिकारिक भएकाले देउवा नेतृत्वले आयोजना गर्ने महाधिवेशनलाई नै आधिकारिक मानिनुपर्नेछ ।

उनले पार्टीको आधिकारिकता र महाधिवेशनलाई लिएर देखिएको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतको फैसला आफूहरूकै पक्षमा आउने दाबी गरे ।

पत्रकार सम्मेलनमा संयोजक झाले देउवा नेतृत्वको समूहले पार्टीको विधि र प्रक्रिया अनुसार महाधिवेशन अघि बढाउने बताए । उनले वडा तहदेखि क्षेत्रीय तहसम्मका अधिवेशनका लागि आवश्यक तयारी सुरु भइसकेको जानकारी दिए ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति, प्रक्रिया र वैधानिकतालाई लिएर संस्थापन पक्ष र देउवा समूहबीच विवाद चर्किएको छ । दुवै पक्षले आफूहरू नै पार्टीको वैधानिक र आधिकारिक धार भएको दाबी गर्दै आएका छन् ।

धनुषामा देउवा समूहको सक्रियतासँगै जिल्लास्तरमा समेत कांग्रेसको आन्तरिक विवाद थप सतहमा आएको छ । महाधिवेशन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकता विवादको निर्णयलाई पनि महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको