अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच अमेरिकामा भेटवार्ता



काठमाडौं, असोज २०। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डिसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले उहाँसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल भएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताएका छन्।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारीसमेत दिएका छन्।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।

भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको