अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन



एजेन्सी, असोज २२। भारतीय फिल्म क्षेत्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सक डा। शेखर सालकरका अनुसार पाटेकरलाई गम्भीर कार्डियाक अरेस्ट भएको थियो। चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताइएको छ। बिहान करिब ५ः२० बजे उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

घटनापछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको छ भने पोस्टमार्टम गरिने जनाइएको छ। त्यसैले मृत्युको विस्तृत कारणबारे अन्तिम पुष्टि पोस्टमार्टमपछि हुने बताइएको छ।

नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो। उनले सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका फिल्ममा प्रभावशाली अभिनय गरेका थिए।

‘वेलकम’ र ‘वेलकम ब्याक’ जस्ता व्यावसायिक रूपमा सफल फिल्ममा उनको भूमिकाले उनलाई नयाँ पुस्तामाझ समेत लोकप्रिय बनाएको थियो। उनी हिन्दीका साथै मराठी फिल्म क्षेत्रमा पनि सक्रिय थिए।

पाटेकरले अभिनयसँगै निर्देशनमा पनि काम गरेका थिए। उनले निर्देशन गरेको ‘प्रहार स् द फाइनल अट्याक’ उनको चर्चित काममध्ये एक हो।

उनले आफ्नो अभिनयका लागि तीनपटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। भारतीय चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई सन् २०१३ मा पद्मश्रीबाट समेत सम्मान गरिएको थियो।

उनको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक व्यक्त हुन थालेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २२, बिहीबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको