काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।
यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक समस्याका कारण मतदान समय तीन घण्टा पछि सारिएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। प्रतिनिधिको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकेको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
त्यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ। मतदानपछि मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।



