एजेन्सी, असोज २४ । भारतको राजधानी नयाँ दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) को प्रस्तावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेशको राजीनामा माग गर्दै शनिबार जंतरमंतरमा प्रदर्शन गर्ने तयारी भएपछि दिल्लीका विभिन्न क्षेत्रमा आवागमन र सञ्चार सेवामा प्रतिबन्ध लगाइएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका ४५ मेट्रो स्टेसनमा सेवा बन्द गरिएको छ। यस्तै, जंतरमंतर आसपासको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा २४ घण्टाका लागि बन्द गर्ने आदेश जारी गरिएको छ।
प्रहरीको आदेशअनुसार शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म जनपथ–कर्तव्य पथ क्षेत्रको चार किलोमिटर आसपास इन्टरनेट सेवा बन्द रहने जनाइएको छ।
चोकचोकमा प्रहरी र अर्धसैनिक बल परिचालन
प्रदर्शनलाई ध्यानमा राख्दै नयाँ दिल्ली जिल्लाका विभिन्न स्थानमा दिल्ली प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। प्रहरीले सडकमा अवरोधक राख्नुका साथै सवारीसाधन जाँच र पैदलयात्रीमाथि निगरानी बढाएको छ।
दिल्ली प्रहरीका अतिरिक्त आयुक्त राजीव रञ्जनले राजधानीको सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताएका छन्। सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर वरिष्ठ प्रहरी अधिकारी तथा प्रहरी थानाका प्रमुखहरूलाई गस्तीमा खटाइएको समाचारमा उल्लेख छ।
रेल सेवा र शैक्षिक गतिविधि प्रभावित
प्रदर्शनका कारण रेल सेवासमेत प्रभावित हुने जनाइएको छ। शुक्रबार दिउँसो २ बजेपछि नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनबाट छुट्ने रेल रद्द गरिएको समाचारमा उल्लेख छ। शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म ती स्टेसनमा आउने रेलसमेत रद्द गरिएको जनाइएको छ।
यस्तै, सुरक्षा व्यवस्था र मेट्रो सेवामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै दिल्लीका केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्। केही कलेजले परीक्षा स्थगित गरेका छन्।
मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर दिल्ली प्रशासनले सुरक्षा निगरानी बढाएको हो। प्रदर्शनमा सहभागी हुन सक्ने समर्थकहरूको गतिविधिबारे प्रहरीले निगरानी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



