गोरखामा बूढीगण्डकीको वितण्डा : सल्लेरी बजारमा बाढी, तटीय बस्ती जोखिममा



काठमाडौं, असोज २५ । गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा सल्लेरी बजारमा क्षति पुगेको छ। नदीमा एक्कासि आएको बाढीले तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।

आइतबार बिहान करिब साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन थालेको थियो। चुमनुब्री गाउँपालिका–६ चुम्चेत क्षेत्रबाट आएको बाढी स्यारखोलातर्फ हुँदै बूढीगण्डकीमा मिसिएको प्रारम्भिक विवरण छ।

चुमनुब्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएको र पछि थुनिएको पानी खुलेपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि बाढीको वास्तविक कारण पुष्टि भएको छैन। माथिल्लो क्षेत्रमा वर्षा भएको विवरणसमेत नरहेको विपद् अधिकारीहरूले बताएका छन्।

बाढीले तल्लो क्षेत्रसम्म क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सतर्क गराइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिवास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम छ। उनले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सचेत गराएको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।

बाढीको बहाव र सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित स्थानमा जान र प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार ०७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको