जनकपुरधाम, असोज २६ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। देवीको पूजा गर्न बिहानैदेखि जनकपुरधाम स्थित राजदेवी मन्दिर सहित देशभरका शक्तिपीठ तथा घरघरमा भक्तजन जुटेका छन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। सोही स्थानमा आज ब्रह्मचारिणी देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजा गरिन्छ। नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा–आराधना गर्छन्। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधना गर्दा साधना, तपस्या, संयम र धैर्यको प्रेरणा प्राप्त हुन्छ। नवरात्रमा देवीको पूजा गर्दा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको चहलपहल बढेको छ। मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक केन्द्र जनकपुरधाममा पनि दसैँको अवसरमा धार्मिक गतिविधि बढेको छ। यहाँका मठमन्दिरमा भक्तजनले पूजा–अर्चना गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।
नवरात्रका नौ दिन देवीको आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म जमरा तथा प्रसाद ग्रहण गर्ने चलन छ। दसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको प्रमुख पर्वका रूपमा मनाइन्छ।



