जनकपुरधाम, फागुन २० । जनता समाजवादी पार्टी नेपाल वर्तमान सरकार सुशासन , समृद्धि र विकासको कार्यमा असक्षम भएको निष्कर्ष निकालेको छ ।
तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जनाएको छ ।
उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउदै भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरिएको उल्लेख गर्दै अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको जानकारी दिएका छन ।
त्यस्तै, बैठकले नो केवलकार अभियानप्रति समर्थन जनाउदै वार्ता र सम्वादमार्फत समस्याको समधान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ। बैठकले सवै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए ।
सबै अधिवेशन सम्पन्न भएपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासँग भेटघाट अभियान चलाउने समेत निर्णय बैठकले गरेको छ ।
यसै बीच बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन वा नलिने विषयमा निर्णय गर्ने अधिकार संसदीय दललाई दिएको जनाएका छन ।
केन्द्रिय समितिको बैठकले पार्टीको विधानमा रहेको केही बुन्दालाई परिमार्जन गर्दै संगठनमा २ उपाध्यक्ष, एक महासचिव सहित ११ जना केन्द्रिय सदस्य कार्यकारिणी समितिमा थप गर्ने निर्णय समेत गरेको छ ।



