ओम प्रकाश यादव
गौर, फागुन २४ । रौतहटमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई ठूलो झट्का लागेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
लोसपाका रौतहट जिल्ला अध्यक्ष नै माओवादीमा प्रवेश गरेपछि रौतहटमा लोस पालाई ठूलो धक्का लागेको छ।
आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोसपा जिल्ला अध्यक्ष लिलाप्रसाद साहलाई माओवादीमा प्रवेश गराउँदै स्वागत गरेका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा रौतहटमा रहेका प्रचण्ड आज बिहान माधवनाराण नगरपालिका-६ माधोपुरमा आयोजित एक कार्यक्रमका बीच साहलाई पार्टी प्रवेश गराएका हुन् ।
लोसपा जिल्ला अध्यक्ष लीलाप्रसाद साह सहित लोसपाका सयौ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने सबैलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
लीलासाह माधवनारायण नगरपालिका-१ निवासी हुन् । साहले लोसपा नेपालको तर्फबाट यस अघिको स्थानिय तहको निर्वाचनमा माधवनारायण नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । निर्वाचनमा उनले दोस्रो स्थान प्राप्त गर्दै मेयर पदमा थोरै मतान्तरले पराजित भएका थिए।
चुनावमा उनले कुल तीन हजार तीन सय ३२ मत ल्याएका थिए। माधवनारायणको राजनीतिमा उनी ठूलो प्रभाव राख्ने नेता समेत हुन् । उनी २०७४ को चुनावमा पनि मेयरमा लडेका थिए।






