मुख्यमन्त्रीले बन्द गरेको अस्पताल सञ्चालनमा  



ओम प्रकाश यादव
रौतहट, चैत ४ । अबैध अस्पताल बन्द गर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई रौतहटमा ठाडो उल्लंघन गरिएको पाइएको छ । मुख्यमन्त्री सिंहको निर्देशनलाई चुनौति दिँदै रौतहटका निजी अस्पतालहरुले अस्पताल सञ्चालन गरेको पाइएको छ । मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा अबैध निजी अस्पताल बन्द गर्ने अभियान चलाएपनि रौतहटमा उनको निर्देशनको अवज्ञा गर्दै निजी अस्पतालहरुले अस्पताल सञ्चालन गरिरहेको देखिएको छ ।

केहिदिन अघि मात्र मुख्यमन्त्री सिंहले अनुगमन गर्न आउँदा मापदण्ड पुरा नगरेको भन्दै रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा सञ्चालित आनन्द अस्पताल एक्यूपन्चर सेन्टरलाई बन्द गर्न निर्देशन दिएका थिए तर मुख्यमन्त्री सिंहको सो निर्देशनलाई अवज्ञा अर्थात अटेरी गरी आनन्द अस्पताल शिवनगरका सञ्चालक उमेश प्रसादले मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको देखिएको छ ।

प्रदेश सरकारको निर्देशनलाई अटेरी गरी आनन्द अस्पताल सञ्चालन भएपनि मुख्यमन्त्री सिंहले कुनै चासो लिएका छैनन । आनन्द सहित गरुडा नगरपालिकाका अधिकांश र चन्द्रपुरका पनि मुख्यमन्त्रीले बन्द गरेका सबैजसो अबैध अस्पतालहरु सेवा सुचारु गरिसकेका छन् ।
यता गरुडा नगरपालिकाले नगरभित्र दर्ता र नवीकरण नै नगरी अबैध रुपमा सञ्चालित सम्पूर्ण निजी अस्पतालहरुलाई १५ दिनभित्रमा दर्ता तथा नवीकरण गराउन पत्र लेखेको छ ।

फागुण २७ गतेदेखी १५ दिनसमय दिएर जारी गरिएको पत्रमा दर्ता र नवीकरण नगरी सञ्चालित निजी अस्पतालहरुलाई १५ दिनभित्रमा दर्ता र नवीकरण गराउनुपर्ने कुरा उल्लेख छ तर पत्रमा मुख्यमन्त्री सतिश कुमार सिंहले बन्द गरेको अस्पतालहरु सुचारु अर्थात सञ्चालन गर्ने भन्ने कुरा कहि कतै लेखिएको छैन ।

सोही पत्रलाई टेकेर आनन्द अस्पताल एक्यूपन्चर सेन्टर सञ्चालन गरेको पाइएको छ । पत्रमा बन्द अस्पताल खोल्ने भन्ने कुरा उल्लेख छैन तरपनि पैसा र पावरको बलमा विना प्रकृया पुरयाइ मुख्यमन्त्री सिंहको निर्देशनलाई अटेरी गरी आनन्द हस्पिटल शिवनगर निर्वाध रुपमा सञ्चालन भइरहेको देखिएको छ ।

आफुहरुले १५ दिन भित्रमा दर्ता र नवीकरण मात्र गराउन निजी अस्पतालहरुलाई समय दिएको तर मुख्यमन्त्री सिंहले बन्द गरेको अस्पतालहरु खोल्न नभनेको गरुडा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविण कुमार झाले बताएका छन् । यो पत्रको आधारमा कसैले यदि विना मापदण्ड पुरा गरी मुख्यमन्त्रीको निर्देशनलाई अटेरी गरी अस्पताल खोलिरहेका छन भने त्यसको जिम्मा नगरपालिकाले नलिने स्वास्थ्य शाखा प्रमुख झा बताउँछन ।

त्यस्तै चन्द्रपुर नगरपालिकाले ३५ दिन समय नै तोकेर अस्थाई रुपमा बन्द अस्पताल सञ्चालन गर्न पत्र जारी गरेको छ । ३५ दिन भित्रमा नगर भित्र सञ्चालित निजी अस्पतालहरुलाई दर्ता र नवीकरण गराउन भनेर चन्द्रपुर नगरपालिकाले समय दिएको छ । मुख्यमन्त्री सिंहले चन्द्रपुरको १० वटा अस्पताल मापदण्ड नपुगेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए । तर चन्द्रपुर नगरपालिकाले मुख्यमन्त्रीको निर्देशनलाई अटेरी हुने गरी ३५ दिनसम्म अस्पताल अस्थायी रुपमा सञ्चालन गर्न परिपत्र जारी गरेको छ ।

मुख्यमन्त्री सिंहले अबैध अस्पताल बन्द गर्न निर्देशन दिएपनि चन्द्रपुर नगरपालिकाले ति अस्पतालहरु खोल्न परिपत्र जारी गरेको छ ।
प्रदेश सरकारले एकातर्फ अबैध हस्पिटल बन्द गर्ने गरेको छ भने स्थानीय सरकारको प्रदेश सरकारको निर्णयलाई ठाडो हस्तक्षेप गर्दै मुख्यमन्त्रीले बन्द गरेको अस्पतालहरुलाई खोल्न परिपत्र गरेपछि मुख्यमन्त्रीले अस्पताल बन्द गरेको के औचित्य रह्यो भनी उनीमाथी प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले दिएको निर्देशनलाई रौतहटको सथानीय सरकारको ठाडो अवज्ञा गर्ने गरेको भएपनि प्रदेश सरकारको यसतर्फ ध्यान जान सकेको छैन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको निर्णयलाई स्थानीय सरकारले हस्तक्षेप गर्न नपाउने प्रतिक्रिया दिएका छन् । स्थानीय सरकारले परिपत्र जारी गरेकै आधारमा मापदण्ड पुरा नगरी आफुले बन्द गरेको निजी अस्पताल खोल्न नपाउने मुख्यमन्त्री सिंहको भनाई छ ।

आफुले रौतहटको २० वटा अबैध निजी अस्पताल बन्द गर्न निर्देशन दिएको भएपनि स्थानीय सरकारले ति अस्पतालहरु खोल्न परिपत्र गरेकोप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री सिंहले जनाएका छन् ।

प्रदेश सरकारले बन्द गरेको हस्पिटललाई खोल्न अनुमति दिने अधिकार स्थानीय सरकारको नरहेको समेत उनले बताए । यसबारे आफु बझिरहेको र चाडै कडा कदम चाल्ने उनले बताए ।

प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको