वीरगञ्ज, चैत ५ । ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई प्रहरीले क्याम्पस परिसरबाट बाहिर निकालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जका सबै पत्रकारहरूलाई क्याम्पस क्षेत्रबाट लखेटेको हो।
स्ववियु निर्वाचनको निष्पक्ष समाचार संकलन गर्न गएका स्थानीय पत्रकारहरूलाई बलपूर्वक बाहिर निकालिएको घटनाले मिडिया स्वतन्त्रता माथि हस्तक्षेप भएको उनीहरूको गुनासो छ।
पत्रकारहरूले शान्तिपूर्ण रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बेला प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएका छन्। घटनापछि पत्रकार महासंघ लगायतका संघसंस्थाहरूले प्रहरी प्रशासनको यो कदमप्रति आपत्ति जनाउने तयारी गरिरहेका छन्।
स्ववियु निर्वाचनको क्रममा प्रहरीले निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन पत्रकारहरूलाई प्रवेश निषेध गरिएको दाबी गरे पनि यस घटनाले लोकतान्त्रिक प्रक्रियामा संचारकर्मीहरूको भूमिकामाथि प्रश्न उठाएको छ।
अहिलेसम्म २ हजार मात्र मतदान
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १ः३० बजेसम्म २० प्रतिशत २ हजार मतदान मात्र भएको निर्वाचन प्रमुख दिलीप सिंह ले जानकारी दिएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजे बाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलो भई १० बजे मात्रै सुरु भएको थियो। सिंहका अनुसार निर्वाचनका सम्पूर्ण तयारी पूरा भएपछि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको हो।
मतदानस्थल र मतदाता विवरण मतदानस्थल – ९ वटा, मतदाता संख्या – १०,७२९ जना, सभापति पदका उम्मेदवार – १४ जना छन्।
१६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भइरहेको छ।
ठाकुरराम क्याम्पसमा जारी मतदानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।






