विराटनगर, वैशाख १० । मोरङको कानेपोखरी गाउँपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार बुधबार बिहान काकडभिटबाट धरान जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो । प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनविक्रम दाहालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमा मृत्यु भएको हो ।
प्रहरी नायब उपरिक्षक दाहालले मृतक आचार्य उदयपुर बेलका नगरपालिका निवासी भएको जानकारी दिए । त्यसैगरी, घटनामा मोटरसाइकलमा हाकिरहेका इटहरी नगरपालिकाका हरि शर्मा भने घाइते भएका छन् । घाइते शर्मालाई उपचारका लागि विराटनगर र मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा लगिएको दाहालले जानकारी दिए । प्रहरी नायब उपरिक्षक दाहालका अनुसार मोटरसाइकल चालक र मृतक दुई जना दिदी-भाइ हुन् ।
प्रहरीले दुर्घटनामा संलग्न कन्काई नगरपालिकाका ५१ वर्षीय बस चालक सोमलाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।






