काठमाडौं, वैशाख १७ । सर्वोच्च अदालतको पत्रलाई आधार मान्दै पक्राउ परेका रेशम केही बेरमै रिहा हुन लागे काछन । चौधरीलाई छाड्न सर्वोच्चले अर्को पत्र पठाएको छ ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले उनलाई थुनामुक्त गर्न कारगारलाई पत्र पठाएका हुन् । पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।
आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।
पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२÷१÷१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद ÷ थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।
यसैबीच चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो ।



