राजविराज, जेठ २३ । सप्तरीको महादेवा गाउँपालिका २ की १७ वर्षिया काजल कुमारी मण्डल शुक्रबार बिहान ९ बजेतिर विद्यालय हिडिन् । १० बजेतिर उनी महादेवा चौकमा पुगिन । बिहान ११ बजेतिर उनको परीक्षा थियो । चार्डै विद्यालय पुग्न उनले हतार हतार बाटो पार गर्दै थिइन् । अचानक तिब्र गतिमा आउँदै गरेको को.१त. ५४०१ नं. को ट्याक्टरले ठक्कर दियो ।
ठक्करले उनको घटना स्थलमै मृत्यु भयो । सडक आसपास हिडिरहेका पैदल यात्रु र अरु सवारीचालक दुर्घटना देखेर चिच्याउन थाले । भाग्न लागेका चालक धनिया यादवलाई तत्कालै नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई खबर गरे ।
तिलाठी कोइलाडी गाउँपालिकास्थित श्री लक्ष्मीबल्लभ नरिसिंह उमाविमा कक्षा ११ मा अध्ययनरत काजल परीक्षा दिन जाने क्रममा यसरी दुर्घटनामा पर्दा आफन्तसँगै पुरै टोलवासी शोकमग्न बनेका छन् । आक्रोसित स्थानीयवासीले केही बेर चक्काजाम नै गरे ।
प्रहरीको प्रयासमा आवागमन सूचारु गरिएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुने उनको भनाई छ ।
छात्राको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।






