नाला निर्माणमा अनियमितता गरेको आरोप



वृजमान तामाङ
राजविराज, असार ४ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ अन्तर्गत कञ्चनपुरमा नाला निर्माणमा अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । नन्दलाल चोकदेखि पश्चिमतर्फ रहेको पब्लिक आधारभूत विद्यालय सडक खण्डमा नारा निर्माण कार्यमा अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् ।

सडकको दुई तर्फ नाला निर्माण भएपनि अनियमितता गर्ने खराव सोच राखेर निर्माण स्थलमा साइनबोर्ड समेत नराखेको स्थानीयले बताएका छन् ।

कञ्चनपुर पब्लिक आधारभूत विद्यालय सडक खण्डमा दुई तर्फ गरी करिब २ सय ७४ मिटर लम्बाइको नालाको काम तिव्र गतिमा भइरहेको एक स्थानीयले बताए । उनले निर्माण स्थलमा कुनैपनि जानकारीमूलक साइनबोर्ड वा विवरण नभएकोले सो निर्माण कार्यमा ठुलै चलखेल भएको आरोप लगाए ।

निर्माण स्थलमा योजना सम्बन्धी जानकारी दिनुपर्ने साइनबोर्ड वा प्लेक्स बोर्ड नराखिएको अवस्थामा स्थानीयले यस कार्यबारे अन्योल व्यक्त गरे।

काम त भइरहेको छ, एक स्थानीयले भने, तर कस्को योजना हो, कुन शीर्षकअन्तर्गत काम भइरहेको हो, बजेट कति हो, र काम कहिले सुरु भएर कहिलेसम्म सम्पन्न हुने हो भन्ने कुनै जानकारी छैन।

यस कार्यको जिम्मा कञ्चनरुप नगरपालिकाले लिएको हो कि प्रदेश सरकारको योजना अन्तर्गत हो भन्ने कुरा समेत स्पष्ट छैन। कार्य स्थलमा कुनै विवरण नराखिएकाले यसबाट भ्रष्टाचार गर्ने नियत स्पष्ट भएको स्थानीयको भनाइ छ ।

“नाला निर्माण त भइरहेछ तर ठेकेदार कहिल्यै पनि स्पष्ट रुपमा प्रस्तुत हुँदैनन्, न कुनै प्राविधिक निरीक्षण देखिन्छ, न त स्थानीय सरोकारवाला निकायको उपस्थिति नै छ” एक स्थानीयले भने ।

प्राविधिक मापदण्ड अनुसार कुनै पनि सार्वजनिक निर्माण कार्य सुरु गर्नु अघि तथा योजना कार्यान्वयन गर्दा योजनाको नाम, लागत, निर्माण कम्पनी वा उपभोक्ता समितिको नाम, सुरु र सम्पन्न हुने मिति, सुपरिवेक्षण गर्ने निकाय आदि उल्लेख भएको विवरण बोर्ड अनिवार्यरूपमा राखिनुपर्ने कानुनी व्यवस्था हुन्छ। पत्रकार समेत रहेका स्थानीय राजकुमार पासवानले भने, तर सो सडकमा निर्माणाधीन नालाको हकमा सबै प्रावधानको घोर उल्लङ्घन गरिएको छ ।ु

स्थानीयवासीका अनुसार सुरेन्द्र साहले निर्माणको ठेक्का लिएका छन् ।
यस्ता कार्यहरूले सार्वजनिक निर्माण कार्यमा पारदर्शिता र जवाफदेहिताको अभाव स्पष्ट देखिएको भन्दै नागरिक समाज, स्थानीय प्रतिनिधिहरू र सरोकारवाला निकायहरूलाई यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको पत्रकार पासवानको भनाइ छ ।

उनले समयमै अनुगमन, मूल्यांकन तथा आवश्यक कदम नचालिए आगामी दिनहरूमा यस्ता निर्माण कार्यले दीर्घकालीन समस्याहरू निम्त्याउन सक्छन् भन्ने चिन्ता समेत व्यक्त गरे ।

ुसार्वजनिक सम्पत्तिको निर्माण कार्य जनताको करबाट संकलित बजेटबाट भइरहेको हुँदा सो कार्यमा पूर्ण पारदर्शिता, जवाफदेहिता र स्थानीय सहभागिता अनिवार्य हुनुपर्छ उनले भने सरोकारवाला निकायहरू तथा स्थानीय प्रशासनले यस विषयमा चाँडोभन्दा चाँडो स्पष्टता ल्याई जनताको विश्वास कायम राख्न जरुरी छ।

प्रकाशित मिति: २०८२ असार ४, बुधबार १९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको