एजेन्सी, साउन २० । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई तख्तापलटको योजना बनाएको आरोपमा हाउस अरेस्ट (घरमै नजरबन्द) गरिएको छ ।
उनीमाथि २०२२ को राष्ट्रपति चुनावमा पराजयपछि सत्ता नछाड्ने नियतले षड्यन्त्र रचेको गम्भीर आरोप लगाइएको छ ।
ब्राजिलको संघीय प्रहरीले बोल्सोनारोको ब्रासीलिया स्थित घरमा छापा मारेर मोबाइल फोन र अन्य प्रमाणहरू जफत गरेको छ । अदालतको आदेशमा गरिएको यो कारबाहीपछि बोल्सोनारो अब ब्रासीलिया बाहिर यात्रा गर्न नपाउने छन्।
बोल्सोनारोले २०२२ को राष्ट्रपति चुनावमा लुइज इनासियो लुला डा सिल्भासँग हार बेहोरेका थिए। त्यसपछि, उनीमाथि सैन्य हस्तक्षेप वा अन्य असंवैधानिक उपाय अपनाएर सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप लाग्दै आएको छ।
रिपोर्टहरू अनुसार, बोल्सोनारोले आइतबार रियो डि जेनेरियोमा आफ्ना समर्थकलाई छोरा तथा सिनेटर फ्लावियो बोल्सोनारोको मोबाइलबाट सम्बोधन गरेका थिए। यस कार्यलाई पनि संघीय प्रहरीले निगरानीमा राखेको बताइएको छ।
ब्राजिलको संघीय प्रहरीले पुष्टि गरेको छ कि अदालतको निर्देशनमा बोल्सोनारोमाथि निगरानी बढाइएको हो।
एक अधिकारीका अनुसारः “अदालतको आदेश अनुसार मोबाइल फोनहरू जफत गरिएको छ र उनलाई ब्रासीलिया बाहिर जान अनुमति छैन।”
यो कदमलाई देशभित्र न्यायिक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यको रक्षा गर्ने प्रयासका रूपमा हेरिएको छ।
यसबीच, संयुक्त राज्य अमेरिकाले बोल्सोनारोमाथि गरिएको नजरबन्दको निन्दा गरेको छ। वाशिंगटनले यस कारबाहीलाई “चुनावको समयमा विपक्षी नेताहरूलाई दबाउने प्रयास” को संज्ञा दिएको छ।
यस विषयमा अमेरिकी अधिकारीहरूले भनेका छन् , “कुनै पनि देशले राजनीतिक प्रतिद्वन्द्वीलाई अदालतको माध्यमबाट चुप लगाउने प्रयास गर्नु निन्दनीय छ।”
बोल्सोनारोमाथिको कारबाहीले ब्राजिलको राजनीतिक वातावरणमा तनाव बढाएको छ। समर्थकहरू यो कदमलाई राजनीतिक प्रतिशोध मानिरहेका छन् भने विरोधीहरू यसलाई संवैधानिक कानूनको विजय ठानीरहेका छन्।






