आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने



काठमाडौं, भदौ २२ । आज भाद्र शुक्ल पूर्णिमाका दिन यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण लाग्दै छ । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगमा देखिने भएकाले यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ।

खगोलविद्हरूका अनुसार पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई तितरबितर पार्छ र रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिन्छ।

यो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन्।

कति बजे देखिन्छ ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार चन्द्रग्रहण राति १०ः११ मा सुरु भई १ः४१ मा अन्त्य हुनेछ । मौसम सफा भएमा काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट साढे तीन घण्टासम्म ग्रहण अवलोकन गर्न सकिनेछ।

यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।

ग्रहण किन लाग्छ ?

सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ। पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्दा खग्रास र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्रग्रहण हुन्छ।

यस्तै, सूर्य र पृथ्वीबीच चन्द्रमा पर्दा सूर्यको प्रकाश छेकिँदै पृथ्वीमा अँध्यारो हुने भएकाले त्यसलाई सूर्यग्रहण भनिन्छ।

धार्मिक र वैज्ञानिक दृष्टिकोण

धार्मिक मान्यताअनुसार ग्रहणको बेला पूजापाठ, खाना खाने, हाँस्यव्यंग्य गर्ने वा सहबास नगर्न भनिन्छ। तर वैज्ञानिकहरूले यी विश्वासलाई स्वीकार गर्दैनन्। उनीहरूले ग्रहणलाई सामान्य खगोलीय घटना मान्दै सुरक्षित तरिकाले अध्ययन गर्न सुझाव दिएका छन्।

वैज्ञानिकहरूको भनाइमा ग्रहणलाई नाङ्गो आँखाले हेर्नु हुँदैन, बरु वैज्ञानिक विधिबाट अवलोकन गर्नु उपयुक्त हुन्छ।

प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार ०७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको