काठमाडौं, भदौ २४ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध सरकार स्वयंले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै गल्ती गरेको ठानेको छैन। तर, आन्दोलन चर्किनु र जनजीवन प्रभावित भएपछि तत्कालका लागि प्रतिबन्ध हटाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता गर्न अस्वीकार गरेको जानकारी दिएका थिए। उनले भने, “डेढ वर्षदेखि हामीले सूचीकृत हुन भनेका थियौं, तर उनीहरूले हाम्रो राष्ट्रिय स्वाभिमानलाई बेवास्ता गरे। एउटा देशलाई यसरी हेप्न पाइन्छ ?”
तर, सरकारको निर्णयविरुद्ध उत्रिएको जेनजी पुस्ताको आन्दोलनले ठूलो मानवीय क्षति निम्त्यायो। काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गएपछि बढ्दो दवाब थेग्न नसकेर सरकारले प्रतिबन्ध फिर्ता लिएको हो।
गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गरिएको थियो।






