जेनजी आन्दोलन : मिर्चैया नगरपालिकामा श्रद्धाञ्जली सभा, र सरसफाइ



सिरहा असोज १ । जेनजी आन्दोलन को क्रममा सहादत प्राप्त युवाहरूको सम्झनामा मिर्चैया नगरपालिकामा श्रद्धञ्जली सभा सम्पन्न भएको छ।

नगर कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख यादवसहित नगरका सम्पूर्ण कर्मचारी, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा झुकाउँदै आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरे । साथै, देश परिवर्तनमा युवाहरूको अग्रणी भूमिका रहेको भन्दै जेनजी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको थियो।

जेनजी आन्दोलन को क्रममा नगरपालिका कार्यालयमा भएको तोडफोड तथा आगजनी बाट फैलिएको फोहर सफाई पनि श्रद्धाञ्जलीसभाकै क्रममा गरिएको छ।

नगरपालिकाका कर्मचारीका अनुसार, प्रदर्शनकारीहरूले कार्यालयमा रहेका महत्वपूर्ण कागजातहरू, कम्प्युटर, इलेक्ट्रोनिक उपकरण, फर्निचर, र एक सरकारी सवारीसाधनमा समेत आगजनी गरेका थिए। अगलागीबाट सम्पूर्ण सामग्री पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।

यसैबीच नगर प्रमुख श्रवण यादवले घटनाको कडा निन्दा गर्दै यस प्रकारको हिंसा जेनजी आन्दोलनकारीहरूबाट नभई केही “दुष्ट र स्वार्थी तत्वबाट गरिएको दाबी गरेका छन्।

उनले भने ,‘ जेनजी आन्दोलनले उठाएको परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाज सराहनीय छ । म स्वयं आन्दोलनको उद्देश्यमा समर्थन जनाउँछु। तर हिंसा कुनै पनि हालतमा स्वीकार्य छैन।”

यसैबीच स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
यद्यपि, पछिल्लो हिंसात्मक घटनाका कारण मिर्चैया नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको र नगरवासीहरूमा चिन्ता बढेको बताइएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधवार १६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको