ओम प्रकाश यादव
रौतहट, असोज ३ । जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा करोडौँको सरकारी तथा निजी सम्पत्ति जलेर नष्ट भएको पाइएको छ ।
गत भदौ २३ र २४ गते नक्कली जेनजीहरुले व्यक्तिगत रिसराग एवं राजनीतिक प्रतिसोध साध्न तथा अन्य रिसिइबीको बदला लिन सरकारी कार्यालयका साथै जनप्रतिनिधि तथा कर्मचारीहरुको घरमा समेत आक्रमण गरी ठुलो क्षति पुरयाएको छ ।
भदौ २४ गते रौतहटमा स्थानीय तहदेखी लिएर प्रहरी कार्यालय, विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि तथा सरकारी कर्मचारीको निजी घरहरुमा आगजनी, लुटपाट तथा तोडफोड गरिएको छ । जसका कारण करोडौंको सरकारी तथा निजी सम्पत्ति नोक्सान भएको छ ।
भ्रष्टाचारजन्य कार्यबाट जोगिन फाइल जलाउन पनि पालिकाहरूमा आगलागी गरिएको पाइएको छ । आन्दोलनको क्रममा गरिएको तोडफोड तथा आगजनीबाट रौतहटको ७ वटा पालिकामा ठूलो सरकारी सम्पत्ति नष्ट भएको छ ।
आगलागीबाट जिल्लाको गरुडा, कटहरिया, फतुवा विजयपुर, चन्द्रपुर, मौलापुर, बौधीमाई र गौर नगरपालिकामा ठूलो क्षति पुगेको छ ।
यी सातवटा पालिका मध्ये गरुडा, चन्द्रपुर, कटहरिया र फतुवा विजयपुर नगरपालिकामा गरिएको आगजानीबाट कार्यालयका सबै सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । यी पालिकाहरु आगजनीले जलेर पूर्ण रुपमा ध्वस्त नै भएको छ । सवारी साधानहरु समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यस्तै मौलापुर नगरपालिकामा पनि आगजनी गरिएको थियो तर त्याँहा केहि शाखाहरुमा मात्र आगजनी गरिएको कारण धेरै क्षति हुनबाट जोगियो । मौलापुर कार्यालयमा तोडफोड पनि गरिएको छ भने उक्त कार्यालयका सरवारी साधानहरु आगो लगाई जलाइएको छ ।
बौधीमाई र गौर नगरपालिकामा आगजनी नगरिएपनि व्यापक मात्रामा तोडफोड तथा लुटपाट गरी क्षति पुरयाइएको छ । गौर, गरुडा, फतुवा विजयपुर र बौधीमाई नगरपालिकामा राजनीतिक रिस साध्ने निहुँमा सरकारी सम्पत्तिको तोडफोड गरिएको पाइएको छ ।
त्यस्तै वृन्दावन नगरपालिकाको १ नम्बर वडा र चन्द्रपुरको ४ नम्बर वडा कार्यालयमा समेत तोडफोड गरी क्षति पु¥याइएको छ भने परोहा नगरपालिकाको जेनरेटर र एलइडी टिभीमा क्षति पु¥याइएको पाइएको छ ।
मेयरसँग रिस राख्नेहरूको कारण स्थानीय तहको कार्यपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरिएको बुझिएको छ । मुख्य आन्दोलन २४ भदौमा भएको भए पनि २५ भदौका दिन गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारको निजी घरको सम्पत्ति लुट्ने र आगो लगाउने काम भएको थियो भने कटहरिया र फतुवा विजयपुर नगरपालिकामा विभिन्न फाइलहरू जलाउने काम भएको थियो ।
त्यस्तै फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अमबेया खातुनको निजी घरमा समेत लुटपाट तथा आगजनी गरिएको थियो । खातुनको औषधी पसल समेत लुटने र आगो लगाउने काम भएको थियो ।
त्यस्तै रौतहटको चन्द्रनिगाहपुर स्थित रहेको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधी तिवारी, सोही ठाउँमा रहेको नेपाली कांग्रेसका नेता एवं निवर्तमान संघीय सांसद देवप्रसाद तिमल्सिना, चन्द्रपुर नगर प्रमुख सन्तोष काफले लगाएतको निजी घरमा तोडफोड गरी क्षति पु¥याइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा समेत आगजनी गरिएको थियो । आगजनीका कारण इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । इप्रका चन्द्रनिगाहपुरको सबै सवारी साधनमा समेत आगजनी गरिएको थियो । आगजनीका कारण प्रहरी कार्यालय चन्द्रपुरको सबै तिन वटा सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलगीले ध्वस्त भएको इप्रका चन्द्रनिगाहपुरको भवन अहिले दाताहरुको चन्दा सहयोगमा पूर्णनिर्माणको काम भइरहेको छ ।
त्यस्तै चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालय र गरुडामा रहेको इलाका प्रशासन कार्यालयमा समेत तोडफोड तथा आगजनी गरिएको थियो । आगजनीका कारण वन कार्यालय र इलाका प्रशासन कार्यालय गरुडा जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय, रौतहट जिल्ला अदालत, राष्ट्रिय अनुसन्धान कार्यालय, करदाता कार्यालय गौर, गौर कारागार, मालपोत कार्यालय चन्द्रपुर, प्रदेश लेखा कार्यालय गौर, मालपोत कार्यालय गरुडा, चन्द्रपुर ४ नम्बर वडा कार्यालय, नापी कार्यालय गरुडामा तोडफोड गरी व्यापक क्षति पु¥याइएको छ ।
यी कार्यालयहरुमा आशिंक क्षति भएको पाइएको छ । पूर्ण रुपमा क्षतिग्रस्त हुने कार्यालयहरुमा गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, इलाका प्रशासन कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रहेको छ ।
गरुडा नगरपालिकामा तिन करोड भन्दा बढी, कटहरिया नगरपालिकामा ७ करोड भन्दा बढी, फतुवा विजयपुर नगरपालिकामा २ करोड भन्दा बढी, चन्द्रपुर नगरपालिकामा चार करोड भन्दा बढी र डिभिजन वन कार्यालय रौतहटमा २ करोड भन्दा बढि क्षति भएको अनुमान गरिएको छ ।
यी कार्यालयहरुको सबै कागजात तथा सामग्री पूर्ण रुपमा जलेर खरानी भएको र भौतिक संरचनामा समेत क्षति भएकोले करोडौंको सम्पत्ति नोक्सान भएको पाइएको छ ।
आन्दोलनको निहुँमा सरकारी कार्यालयका साथै निजी घर तथा सम्पत्तिको पनि ठूलो नोक्सानी भएको छ । निजी घर तथा अन्य सम्पत्तिमा भएको क्षतिको विवरण क्रमशः संकलनको क्रममा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी गराएका छन् ।
सरकारी र निजी सम्पत्तिमा भएको क्षतिको यकिन विवरणहरू अहिले संकलन हुने काम भइरहेकोले अहिले नै यति क्षति भएको भन्ने अवस्था नरहेको बताउँदै सिडिओ खडकाले सबै विवरण प्राप्त भइसकेपछि एकमुष्ट जानकारी गराइने बताए ।



