एजेन्सी, पुस २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालिया धम्कीपूर्ण अभिव्यक्तिप्रति ल्याटिन अमेरिकी देशहरूदेखि युरोपसम्म कडा असन्तोष देखिएको छ। ग्रीनल्यान्डलाई अमेरिका अन्तर्गत ल्याउने ट्रम्पको दाबीले डेनमार्कसहित सम्पूर्ण युरोपमा तनाव सिर्जना भएको छ भने कोलम्बियाले अमेरिकी दबाबविरुद्ध क्षेत्रीय एकजुटताको आह्वान गरेको छ।
ग्रीनल्यान्डलाई अमेरिका मा गाभ्ने ट्रम्पको दाबीपछि डेनमार्क, ग्रीनल्यान्ड तथा नार्डिक र बाल्टिक देशहरूले तीव्र विरोध जनाएका छन्। न्यूयोर्क टाइम्स का अनुसार, युरोपेली देशहरूमा अमेरिका फेरि भेनेजुएलाजस्तै हस्तक्षेप गर्न सक्ने आशंका समेत व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भेनेजुएलामा अमेरिकी कारबाहीपछि क्षेत्रीय अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
‘ग्रीनल्यान्डलाई अमेरिका बनाउने सपना नदेख्नुहोस्’
ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक नीलसनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भनेका छन्, “अब धेरै भयो। ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिका बनाउने सपना नदेख्नुहोस्। यसको भविष्य यहाँका जनताले नै तय गर्नेछन्।”
नार्डिक र बाल्टिक देशहरूले डेनमार्क र ग्रीनल्यान्डप्रति ऐक्यबद्धता जनाएका छन् भने फ्रान्सले पनि खुला समर्थन गरेको छ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसनले ट्रम्पको भनाइ निरर्थक रहेको बताउँदै ग्रीनल्यान्ड बिक्रीका लागि उपलब्ध नरहेको स्पष्ट पारिन्। जर्मनीका विदेशमन्त्री जान वेडफलले ग्रीनल्यान्डमाथि खतरा भए नाटोमार्फत सुरक्षा मजबुत बनाउने विषयमा छलफल हुन सक्ने संकेत दिए।
युरोपेली संघले राष्ट्रिय सार्वभौमिकताको सम्मान अनिवार्य भएको बताएको छ। बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरले पनि ग्रीनल्यान्डको भविष्य डेनमार्क र त्यहाँका जनताले मात्र तय गर्न पाउने स्पष्ट पारे।
कोलम्बियाद्वारा क्षेत्रीय एकजुटताको आह्वान
कोलम्बियामाथि सैन्य कारबाहीको धम्कीपछि राष्ट्रपति गुस्ताभो पेट्रोले ल्याटिन अमेरिकी देशहरूलाई एकजुट हुन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मा लामो पोस्ट गर्दै लागूऔषध तस्करीविरुद्ध आफ्नो सरकारको अभियानको बचाउ गरेका छन्।
कोलम्बियाको विदेश मन्त्रालयले एक निर्वाचित राष्ट्रप्रमुखलाई धम्की दिनु अस्वीकार्य भएको भन्दै ट्रम्पको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानुन र देशको आन्तरिक मामिलामा हस्तक्षेपको संज्ञा दिएको छ।
मेक्सिकोले पनि अमेरिकी हस्तक्षेप अस्वीकार गर्यो
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले ट्रम्पको बयान अस्वीकार गर्दै देशको आन्तरिक मामिलामा कुनै पनि विदेशी हस्तक्षेप सह्य नहुने बताइन्।
उनले मेक्सिको एक सार्वभौम राष्ट्र भएको र अमेरिका सँग सहकार्य गर्न तयार भए पनि हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गरिन्।






