बुटवल, माघ ३ । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नम्बर–२ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ निवासी पौडेलले पार्टीभित्र बढ्दै गएको अधिनायकवादी प्रवृत्ति, नातावाद, भ्रष्टाचार र गुटगत राजनीति अस्वीकार्य भएको जनाउँदै एमाले छाड्ने निर्णय गरेको बताएका छन्।
पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमार्फत पौडेलले पछिल्लो समय पार्टीमा गाली–बेइज्जतीको संस्कृति, खोक्रो राष्ट्रवाद, मोलाहिजा र गुटगत मनोविज्ञान हावी हुँदै गएको उल्लेख गरेका छन्। यस्ता प्रवृत्तिसँग आफू सहमत हुन नसकेको र वैचारिक विचलन देखिएपछि पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाइ छ।
राजीनामा पत्रमा पौडेलले अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरही स्वतन्त्र रूपमा रहने घोषणा गरेका छन्। उनी एमाले सरकारका बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीको कार्यकालमा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। यसअघि उनी कानुन आयोगका सदस्य समेत रहेका थिए।
राजनीतिक जीवनमा पौडेलले लामो समय एमालेमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देही सचिवालय सदस्य, साथै इलाका र क्षेत्रीय कमिटी सदस्यका रूपमा काम गरिसकेका नेता हुन्।

राजीनामा पत्रमा पौडेलले आफूलाई विभिन्न सरकारी जिम्मेवारीमा नियुक्त गर्न सहयोग गरेको भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति आभार व्यक्त गरेका छन्।
पौडेलको पार्टी परित्यागलाई एमालेभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको आलोचनासँग जोडेर हेरिएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा एक केन्द्रीय स्तरका नेताले पार्टी छाड्नुले लुम्बिनी प्रदेशको राजनीतिमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।







