भारतविरूद्ध खेल्न पाकिस्तान तयार, बंगलादेशलाई कारवाही नहुने सहमति



एजेन्सी, माघ २७ । टि–२० विश्वकप क्रिकेटमा भारतविरूद्ध खेल्न पाकिस्तान सहमत भएको छ । १० दिनअघिको निर्णयलाई उल्टाउँदै पाकिस्तान सरकारले फेब्रुअरी १५ मा कोलम्बो (श्रीलंका) मा निर्धारित समयमै म्याच खेल्ने निर्देशन दिएको हो।

पाकिस्तान सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राखेर राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी मेन्स टी–२० विश्वकपमा निर्धारित खेलमा मैदानमा उत्रन निर्देशन दिएको छ। यो निर्णय क्रिकेटको भावना जोगाउन र विश्व खेलको निरन्तरताका लागि लिइएको हो।”



आईसीसीले पनि विज्ञप्ति जारी गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँगको वार्ता सफल भएको पुष्टि गरेको छ। सबै सदस्य राष्ट्रहरूले आईसीसी इभेन्टका प्रतिबद्धता सम्मान गर्ने र विश्वकप सफल बनाउन सहयोग गर्ने सहमति भएको बताइएको छ।

यो विवाद पाकिस्तानले भारतसँग खेल्न नमान्ने घोषणा गरेपछि सुरु भएको थियो। पीसीबी अध्यक्ष मोहसिन नकवीले बंगलादेशलाई विश्वकपबाट हटाइएकोमा आईसीसीको दोहोरो मापदण्ड भएको आरोप लगाएका थिए। तर वार्तापछि बंगलादेशलाई कुनै कारवाही नगर्ने र २०२८–२०३१ चक्रमा थप एक आईसीसी इभेन्ट आयोजना गर्ने अधिकार दिने निर्णय भयो। यसपछि बंगलादेश क्रिकेट बोर्डले पनि पाकिस्तानलाई भारतसँग खेल्न आग्रह गरेको थियो।

श्रीलंका, यूएई लगायतका देशहरूले पनि पाकिस्तानलाई खेल्न आग्रह गरेका थिए, किनकि यो म्याच नहुँदा अन्य राष्ट्रहरूलाई आर्थिक नोक्सान पुग्ने सम्भावना थियो। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले श्रीलंकाका राष्ट्रपति कुमारा दिस्सनायकेसँग पनि कुरा गरेका थिए।

अब क्रिकेटप्रेमीहरूले फेब्रुअरी १५ मा हुने भारत–पाकिस्तानको रोमाञ्चक भिडन्त प्रतिक्षा गर्न सक्ने भएका छन्।

प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको