छिमेकी विवाद उग्रिँदा उदयपुरमा एक जनाको हत्या



उदयपुर, वैशाख ७ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ मा छिमेकी बीच भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।

आइतबार साँझ सीता पाइला टोलमा ७३ वर्षीय रामप्रसाद राईले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय माहाशेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। साँझ करिब सवा ८ बजेतिर सामान्य विषयमा सुरु भएको विवाद झगडामा परिणत हुँदा घटना भएको बताइएको छ।



प्रहरीका अनुसार आवेगमा आएका रामप्रसादले माहाशेरमाथि आक्रमण गर्दा उनको छातीको दायाँ माथिल्लो भागमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। बाटोमै उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बू को नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको