मधेश प्रदेशमा एक आवमै ८२१ उद्योग बन्द



जनकपुरधाम , भदौ १०। आर्थिक मन्दीलगायतका कारण मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मै ८२१ उद्योग बन्द भएका छन्। सोही अवधिमा वाणिज्यतर्फका एक हजार ११७ व्यवसायको पनि लगत कट्टा भएको छ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योग र वाणिज्यतर्फ गरी कुल एक हजार ९३८ उद्योग–व्यवसायको लगत कट्टा गरिएको हो।

तर, सोही अवधिमा प्रदेशमा पाँच हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार सबैभन्दा धेरै उद्योग पर्सामा एक हजार १०१ वटा दर्ता भएका छन्।

त्यस्तै, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्षमा प्रदेशभर सात हजार ५४० उद्योग नवीकरण भएका छन्।

वाणिज्यतर्फ भने प्राइभेट फर्म छ हजार १२२ र साझेदारी फर्म १८ वटा नयाँ दर्ता भएका छन्। यस अवधिमा वाणिज्यतर्फ ११ हजार १४४ फर्म नवीकरण भएको मन्त्रालयले जनाएको छ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले गत आवमा पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।

सूचना अधिकारी महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले उद्योगको लगत कट्टा हुने संख्या बढेको हो।

उद्योग सञ्चालनमा देखिएको चुनौतीका कारण केही व्यवसाय बन्द भए पनि नयाँ उद्योग दर्ता र नवीकरणको तथ्यांकले प्रदेशमा औद्योगिक तथा व्यावसायिक गतिविधि भने पूर्ण रूपमा सुस्त नभएको देखाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको