भारतमा सीजेपीको प्रदर्शन आज पनि , जन्तरमन्तर क्षेत्रमा निषेधाज्ञा



एजेन्सी, असोज २५ । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले आइतबार पुनः प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रदर्शनलाई ध्यानमा राख्दै नयाँदिल्लीको जन्तरमन्तर र आसपासका क्षेत्रमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सीजेपीले आइतबार बिहान १० बजे जन्तरमन्तरमा भेला हुन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ। पार्टीका राष्ट्रिय संगठन इन्चार्ज अजिंक्य शिन्देलाई प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

प्रदर्शनका लागि प्रहरी र सर्वोच्च अदालतबाट अनुमति नपाएको अवस्थामा पनि सीजेपीले आन्दोलन जारी राख्ने जनाएको छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै जन्तरमन्तर तथा आसपासका क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू गरिएको छ।

यसअघि शनिबार प्रहरीले नयाँदिल्ली प्रवेश गर्ने विभिन्न मार्गमा जाँच कडा पारेको थियो। सीजेपीका शीर्ष नेता अभिजित दीपके, सौरभ दास र आशुतोष रांकालाई दिल्ली विमानस्थलमा विमानबाटै नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ। युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रदर्शन रोक्ने क्रममा दिल्लीमा करिब चार हजार व्यक्तिलाई नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ। यद्यपि, नियन्त्रणमा लिइएका सबै व्यक्तिको अवस्था र पछिल्लो विवरणबारे स्पष्ट जानकारी दिइएको छैन।

मुम्बईमा पनि प्रदर्शन

सीजेपीको आन्दोलनको समर्थनमा मुम्बईका विभिन्न स्थानमा पनि प्रदर्शन भएका छन्। महात्मा गान्धीका पनाति तुषार गान्धी, अभिनेता इमरान खान र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का कार्यकर्तासहित करिब ४०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।

अगस्ट क्रान्ति मैदान र हुतात्मा चोकलगायत स्थानमा प्रदर्शन भएका थिए। वञ्चित बहुजन आघाडीका कार्यकर्ताले पनि आन्दोलनको समर्थनमा प्रदर्शन गरेका थिए।

यसपटक सीजेपीले युवा पुस्ता तथा विद्यार्थी संगठनबाट व्यापक समर्थन नपाएको समाचारमा उल्लेख छ। यद्यपि, पार्टीले मुख्य निर्वाचन आयुक्तको राजीनामाको मागसहित आन्दोलन जारी राख्ने जनाएको छ।

प्रदर्शनका कारण दिल्ली र मुम्बईका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको