राजविराज, चैत १६ । पत्रकारको हत्या तथा संचारगृहमा भएको आगजनी बिरुद्ध राजविराजमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन् । काठमाडौंमा शुक्रबार प्रदर्शन र आगजनीका क्रममा समाचार संकलनका लागि पुगेका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएपछी पत्रकारहरु आन्दोलित भएका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अगुवाईमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषिमाथी कडा कारवाहीको माग गर्दै शनिबार प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा सहभागि पत्रकारहरुले पत्रकार रजकको हत्यारालाई कारवाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, संचारगृहमा आक्रमण बन्द गर लगायत नारा लेखिएको प्ले बोर्ड बोकेका थिए ।
बिरोध प्रदर्शनमा पत्रकार महासंघका सभापति श्रवण देवका साथै पूर्व अध्यक्षहरु बैजनाथ झा, धिरेन्द्र साह, प्रेस काउन्सीका पूर्व सदस्य अनिलकुमार अनल तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पत्रकारहरुको बिरोध जुलुस नगर परिक्रमा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोधसभामा परिणत भएको थियो । सभामा वक्ताहरुले घटनाको सत्यतथ्य छानबिन, दोािषलाई कारवाही, पत्रकार रजकलाई न्याय तथा उनका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
काठमाडौंमा भएको उक्त घटनापछी शनिबार स्थापना दिवसको अवसरमा आयोजना गर्ने भनिएको प्रभातफेरी तथा स्वास्थय परिक्षण लगायतका कार्यक्रम समेत स्थगित गरिएको पत्रकार महासंघ शाखा सप्तरीले जनाएको छ ।






