राजविराज, चैत १७ । मन्दीको मारमा परेको समयमा चन्दाको माग समेत बढ्दा व्यापार व्यवसायमा समस्या भइरहेको सप्तरीका व्यवसायीहरुले पीडा ब्यक्त गरेका छन । आईतवार सप्तरी उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यस्तो पीडा पोख्दै यसप्रति सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले विगतमा कोरोनाकाल तथा बैंकको मनपरी ब्याजका कारण थलिएको व्यापार सम्हलन नपाउँदै चन्दा आतंक र खुला सिमानाको फाईदा उठाउँदै तस्करहरुबाट हुने गरेको चोरी पैठारीका कारण आपृmुहरुको व्यापार व्यवसाय चौपट भएको गुनासो गरे ।
“कारोबार नहुँदा लिएको ऋणको पनि बैकलाई किस्ता बुझाउन नसकिरहेको ब्यापारीमाथी विभिन्न नाउँमा अहिले चन्दा माग्न थालिएको छ’’ अध्यक्ष अग्रवालले भने–‘‘यसले यहाँका व्यापारीहरुलाई आर्थिक र मानसिक समस्या पनि थपिएको छ ।”
खुला सिमानाबाट भन्सार चोरीका समान खुलेआम आयात भइरहदा आफूहरुको व्यवसायमा ठूलो धक्का लागेको बताउँदै उनले अहिले राजनीति दलको सम्मेलन, अधिवेशन, आमसभा, खेलकुद, प्रतियोगिता र धार्मिक गतिविधि लगायत विभिन्न नामबाट दिनहुँ चन्दा माग भइरहेका कारण यहाका व्यापारीहरुलाई टिक्नै गाहे भइरहेको पीडा सुनाए । विगतमा भूमिगत समूहले चन्दा मागेर दुःख दिने गरेको स्मरण सुनाउँदै उनले हाल त्यस्तो अवस्था नरहेपनि मुलधारका राजनीतिक दलदेखि तीनका भातृ संगठन तथा अन्य विभिन्न नामबाट चन्दा माँग हुदै आएका कारण आफूहरु पीडित बनेको बताए ।
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका सप्तरी उधोग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरुण प्रधानले चार वर्ष यता यहाँको व्यापार व्यवसाय चौपट बन्दै गएका कारण राजविराजमा मात्रै डेढ सय जति भाडाका पसल र सटरहरु बन्द भएको र कति बन्द हुने अवस्थामा पुगेको बताए ।
उनले आर्थिक मन्दी र ब्यापार घाटाका कारण कतिपय व्यापारीहरु घर भाडा तिर्न नसकेको बताउदै अहिले ब्यापारीहरु चन्दा दिन सक्ने अवस्थामा नरहेको लाचारी आफूलाई सुनाउने गरेको बताए । उनले ब्याजका लागी बैकिङ्ग क्षेत्रबाट बढदो दवाब, अब्यवहारीक कर लगायतका समस्याबाट उधोगी व्यवसायीहरु हैरान बनेको भन्दै राज्यले उधोगी व्यवसायीको समस्याप्रति गम्भिर चासो देखाउनु पर्ने आवश्यक्ता औल्याए ।
पत्रकार सम्मेलनमा अन्य उद्योगी व्यवसायीहरुले पनि बोल्दै ओरालो लाग्दै गएको यहाँको व्यापार व्यवसाय जोगाउन सरकारले अविलम्व ठोस पहल गर्नू पर्ने माग गरे ।






