संघीय लोकतान्त्रिक मधेशी मोर्चाको आज घोषणा हुँदै

शीर्ष नेताहरु सहभागी हुने


जनकपुरधाम, चैत २१ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउदै संघीयता कार्यान्वयनको बाँकी कार्यभार पुरा गराउने उद्देश्यका साथ गठन भएको संघीय लोकतान्त्रिक मधेशी मोर्चाको आज औपचारिक घोषणा हुन लागेको छ ।

राजधानी काठमार्डौको थापागाँउ नयाँ बानेश्वर स्थित काठमाडौं ब्याङकेटमा दिउसो तीन बजे मोर्चा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा मोर्चाको घोषणाहुन लागेको कार्यदलका सदस्य एवं राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जनाएका छन ।

राष्ट्रिय मुद्दामा मधेश केन्द्रित दलहरुको साझा धारणा तय गर्दै पार्टी एकीकरण सम्मको वातावरण निर्माण गर्न संघीयता पक्षधर मधेश केन्द्रित आठ दलले यस अघि कार्यदल बनाएको छ ।

मोर्चा निर्माणका लागि जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपाले एक जुट भएका थिए ।

आठ दलको कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव, तमलोपाबाट ब्रजेश सिंह छन् ।

तर आफु सरकारमा रहेकोले अर्को मोर्चामा बस्न नसक्ने भन्दै हाललाई मोर्चामा समावेश नहुने भन्दै अशोक राई नेतृत्वको जसपाले जवाव दिए पछि अहिले सात दलको मोर्चा घोषणा हुन लागेको हो ।

यसै बीच मोर्चाको नेतृत्व जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बनाउन लागेको भन्दै जनमत पार्टी समेत घोषणा कार्यक्रममा समावेश नहुने जनाइएको छ ।

उनिहरुले उपेन्द्र यादवलाई नेता स्वीकार्न नसिकने भन्दै घोषणा सभामा उपस्थित नहुने स्रोतले जनाएको छ ।
कार्यदलका सदस्य केशव झाले हाल मोर्चाको नेतृत्वबारे कुनै चर्चा नभए पनि मोर्चा विरोधी तत्वहरु संचारमाध्यममा अनावश्यक हल्ला फैलाई रहेको आरोप लगाएका छन ।

उनले भने,‘मोर्चाको नेतृत्वबारे अहिले कुनै निर्णय भएको छैन, अशोक राईज्यु अहिले मोर्चा नबस्ने भने सात दलको मोर्चा घोषणा हुन लागेको हो , जनमत पार्टीको पनि सहभागिता हुनेमा हामी आशावादी छौ।’

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार ०९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको