काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन अगाबै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले शनिबार धनकुटामा आयोजना गरेको कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानु पर्ने बताएका छन् ।
अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उनले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने बताए ।
‘नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानभित्र थुप्रै प्रबन्धहरू छन् । तीमध्ये कतिलाई संशोधन गर्नु आवश्यक छ,’ महामन्त्री थापाले भने, ‘निर्वाचन प्रणालीमा सुधार गर्न, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारीलाई अझ बढी प्रभावकारी र जिम्मेवार बनाउन पनि संविधान संशोधन गर्नैपर्ने अवस्था छ । त्यसपछि मात्र २०८४ को निर्वाचनमा जानुपर्छ ।’
नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूलठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।



