जनताको स्वतन्त्रताभन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन : पूर्वराजा शाह



काठमाडौं, चैत ३१ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया दिएका छन् ।

आइतबार नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् । ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’

प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतवार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको