देवाही गोनाहीमा नगरस्तरीय मेयर कप प्रतियोगिता सुरु



ओम प्रकाश यादव
रौतहट, वैशाख २ । रौतहटको देवाही गोनाही नगरपालिकामा नगरस्तरीय टि–ट्वान्टी नकआउट मेयर कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।

देवाही गोनाही नगरपालिकाको आयोजनामा जय किसान माध्यमिक विद्यालय धरहरीको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता ९ दिन सम्म चल्ने छ । मंगलबार आयोजित एक कार्यक्रमबीच देवाहि गोनाही नगर प्रमुख प्रेमलाल साह र नगर उपप्रमुख परनिया देवी पटेल दुवैजनाले संयुक्तरूपमा प्रतियोगिताको उद्घाटन गरेका छन्। नगर प्रमुख साहले ब्याटिङ र उपप्रमुख पटेलले बलिङ गरि प्रतियोगिताको समुद्घाटन गरेका हुन् ।

युवाहरुलाई खेलप्रति अभिरुचि बढाउने र आकर्षित गर्ने उद्देश्यले नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख प्रेमलाल साहले यस्ता किसिमका खेलले खेलाडीहरूलाई नगर, प्रदेश र केन्द्र स्थतरमा पहिचान बनाउन धेरै भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

गाउँ गाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखाउन मेयर कपले ठुलो सहयोग पुग्ने मेयर साहले बताए। नगरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ। प्रतियोगिताले यहाँको क्रिकेट खेलाडीको क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको उनको भनाइ छ । प्रतियोगितामा नगरको दशवटा टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई नगद सहित सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममा देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधि, जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद गुप्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको