काठमाडौं, बैशाख २ । रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएपछि त्यहाँ उपनिर्वाचन चर्चा परिचर्चा शुरु भएको छ । उपनिर्वाचन कहिले गर्ने भन्ने विषयमा कुनै निर्णय भने भएको छैन ।
०७९ सालको निर्वाचनमा तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई एमालेको सहयोगमा स्व. दीपक बोहोराले पराजित गरेका थिए । रुपन्देहीका अन्य ४ संघीय निर्वाचन क्षेत्रमा एमालेलाई सघाउनेगरी बोहोराले यो क्षेत्रमा एमालेको समर्थन लिन सफल भएका हुन् । अहिले भने एमाले र राप्रपाबीच सम्वन्ध सुमधुर छैन । त्यसैले यहाँको गणित फेरिन सक्छ ।
तर आउने उपनिर्वाचनमा स्व बोहोराको राजनीतिक उत्तराधिकारी बन्ने सौभाग्य कसले प्राप्त गर्लान भन्ने विषय अहिले रुपन्देहीको लागि चर्चाको विषय बनेको छ । स्व. बोहोराका दुई श्रीमती, दुई छोरा र एक छोरी हुन् । अमेरिकामा बिहे भएकी छोरी जेनीको पनि दुई महिना अगाडि मात्रै मृत्यु भएको थियो । जेठी श्रीमती मन्जुतर्फका छोरा गौरव बोहरा पाइलट छन् । उनी बुद्ध एयरको सिनियर पाइलट हुन् । निर्वाचनको समयमा उनी पनि बुवालाई जिताउन पूरै खटिएका थिए ।
गौरव पनि राजनीतिमा जोडिएर अगाडि बढ्ने चाहनामा रहेको पारिवारिक स्रोतले जनाएको छ । कान्छी श्रीमती उन्नतितर्फ छोरा प्रज्वल आईटी इन्जिनियर हुन् र अहिले राजनीतिमा जोडिएका छन् । अमेरिकाको नागरिकता त्यागेर गएको निर्वाचनमा बुवालाई सघाउन आएदेखि उनी यतै बसेका छन् । निर्वाचनपछि बिरामी बुवालाई बोलाइने कार्यक्रममा उनी जान थालेका थिए ।
प्रज्वललाई दिपकको क्षेत्रमा अघि सार्नेगरी नै परिवारले यसअघि तयारी गरिसकेको आंकलन कार्यकर्ताहरुले गरेका थिए । राप्रपाका धेरै स्थानीय कार्यकर्ताले इलाममा सुवास नेम्वाङको छोरा सुहाङलाई जस्तै यहाँ पनि प्रज्ज्वललाई अगाडि सार्नुपर्ने तर्क गर्दै आएका छन् ।
त्यसैगरी नातिनी स्वाती थापा गएको निर्वाचनमा मुख्य जिम्मेवारी लिएर मैदानमा खटिएकी थिइन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छन् । आउने उपनिर्वाचनमा उनी अगाडि सर्छिन् वा प्रज्ज्वल र गौरवमध्ये कसैलाई साथ दिन्छिन् भन्ने अझै स्पष्ट छैन ।
अमेरिकामा अध्ययन गरेर फर्केकी थापाले अन्य सामाजिक क्षेत्रका पनि विभिन्न कार्यक्रम गर्दै आएकी छन् । तीनै जनाका निकटस्थहरुले बोहोराको विरासत कायम राख्न उनीहरुमध्येबाटै उपनिर्वाचनका लागि पार्टीले जिम्मेवारी दिनुपर्ने बताउँदै आएका छन् ।
राप्रपाका स्थानीय नेताहरुका अनुसार निर्वाचनमा दुवै छोराहरु र नातिनीले उत्तिकै साथ दिएको र अहिले पनि तीनै जनाको आकांक्षा रहेपनि पार्टीले कसलाई पत्याउने भन्ने कुरा मुख्य रहेको बताएका छन् ।
निर्वाचनमा खटिएका नगरस्तरका कार्यकर्ता धनबहादुर खाडले आफूहरुलाई तीन जनामध्ये जो आएपनि ठीकै हुने बताए । ‘रुपन्देहीको विकासमा दीपक बोहोराको लगानी ठूलो छ, त्यसको आधारमा त्यो परिवारले उहाँको विरासत पाउनुपर्दछ, हामीले कसलाई दिनेभन्ने कुरा होइन हाम्रा लागि बराबर हो’, उनले भने ।
राप्रपा केन्द्रीय सदस्यसमेत रहेकी नातिनी स्वाती थापाले आजसम्म आफूहरु शोकमै रहेको र यो विषयले प्रवेश नपाएको बताइन् ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपक बोहरा २०३८ सालमा पर्यटन सहायकमन्त्रीको रूपमा सरकारमा सहभागी भएका थिए । ३१ वर्षको उमेरमै मन्त्री बन्न सफल उनी २०४० सालमा पर्यटन राज्यमन्त्री बने ।
२०४२ सालको निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनः निर्वाचित भएका बोहरा २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री बने भने २०४४ सालमा सोही मन्त्रालयकै मन्त्री हुन सफल भएका थिए । उनी २०६७ मा वन तथा भूसंरक्षणमन्त्री भए । यस्तै २०७४ सालमा उनी स्वास्थ्यमन्त्री भएका थिए ।






