राजविराज, बैशाख ९ । डेढ वर्ष अघि एक युवतीको अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतबाट कैद सजाय तोकी फरार रहेका मो.इम्तियाज भन्ने इम्तियाज अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यस पछि फरार भएका उनलाई सोमवार गाउँ घर मै लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
फैसला कार्यान्वयका क्रममा पक्राउ परेका उनलाई मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।






