राजविराजनगरवासी पीडित संघर्ष समितीद्वारा दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा

नगरक्षेत्रलाई कालो झण्डाले ढपक्कै बनाउने देखी सरकारी कार्यालयमा धर्ना सम्मको कार्यक्रम


मनोज माझी
राजविराज, बैशाख ९ । लालपूर्जा पाउने आशमा झण्डै ६५ वर्ष देखी संघर्षरत बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवारले फेरी आन्दोलन चर्काउने भएका छन ।

प्रथम चरणमा बजार बन्द र विरोध प्रर्दशनका कार्यक्रम सम्पन्न गरेका राजविराज नगरवासी पीडीत संघर्ष समितीले मंगलवार राजविराजको मुटुमा रहेको गजेन्द्र चौकमा पत्रकार सम्मेलनको आयोजना गरी दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रथम चरणको आन्दोलनका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रमुखको उपस्थितीमा गत फागुन १८ गते भएको सहमती कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासीको तर्फबाट गठित संर्घष समितिले दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितीका संयोजक इरसाद अन्सारीका अनुसार माग पुरा गराउन थप दबाव दिने उदेश्यले बैशाख १८ गते नगर क्षेत्रको सबै घर र पसलमा कालो झण्डा झुण्ड्याइने छ । यस्तै बैशाख १९ गते गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर संकलन अभियान, बैशाख २१ गते नापी कार्यालयमा कामकाज ठप्प पार्ने गरी धर्ना र बैशाख २२ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनको प्रमुख आतिथ्य ग्रहण गरेका जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहले ५ हजार भन्दा बढी परिवारको पीडा संग जोडिएको लालपूर्जाको समस्या अविलम्ब सरकारले समाधान न गरे भविष्यमा आन्दोलनले गम्भिर अवस्था उत्पन्न गराउने संकेत गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

२०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ रहेका ५ हजार २ सय परिवार वर्षाै देखी लालपूर्जा पाउन सकेका छैनन । मालपोत कार्यालयबाट विगत ८ वर्ष देखी रोक्का प्रकृया तथा राजविराज नगरपालिका कार्यालयबाट नक्शापास लगायतका कार्य बन्द भएपछी स्थानीय समस्यामा परेको संघर्ष समिती तथा वार्ता समितिका सदस्य दिपेन्द्र चौधरीको भनाई छ ।

संघर्ष तथा वार्ता समितीका अर्का सदस्य शम्भु लाल देवले नापी कार्यालयका प्रमुखले रकम लिएर केही ब्यक्तीलाई लालपूर्जा प्रदान गरिसकेको दाबीका साथ प्रकृया पुरा गरेर विटौरी र ब्लक जग्गा बाहक सबैलाई लालपूर्जा न दिए आन्दोलनलाई उनी विरुद्ध नै केन्द्रित बनाउने चेतावनी दिए । उनले आन्दोलनबाटै समस्या समाधान हुने भन्दै सबैलाई सहयोग र सर्मथन गर्न आग्रह समेत गरे ।
नागरीक समाज सप्तरीका अध्यक्ष थान सिह भन्सालीले माग पुरा न भएसम्म आन्दोलन नरोकिने भन्दै सम्पुर्ण नगरवासी संगठित भई अघि बढे सफलता निश्चित हुने बताए ।

संघर्ष समितीले नगरका विटौरी र ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारलाई लालपूर्जा प्रदान गरिनु पर्ने, राजविराज वसर्पाकको संचालन, सीमानाका क्षेत्रमा विषादी परिक्षणका लागी क्वारेन्टाईनको व्यवस्था, लामो समय देखी बन्द रहेको छोटी भन्सार कार्यालयहरुको संचालन, लामखुट्टे नियन्त्रणका लागी औषधी छर्कने व्यवस्था, हटियामा निर्माणाधिन कप्लेक्सको अविलम्ब निर्माण कार्य सकाएर व्यापारीलाई हस्तान्तरण लगायतका ८ बुंदे माँग अघि सारेका छन ।

प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको