निजी विद्यालय शिक्षालय हो कि व्यापार केन्द : अभिभावक



मनोज माझी
राजविराज, बैशाख १३ । मनपरी शुल्क वृद्धि, बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन तथा प्रत्येक बर्ष भर्ना शुल्कको नाममा अधिकांश निजी तथा आवासिय विद्यालयले ठग्न थालेको भन्दै यहाँका अभिभावकहरुले यस्ता कार्य तत्काल रोक्न माग गरेका छन् ।

शिक्षा सम्बन्धि नियमावली, २०७७ को नियम ५ मा उल्लेख भएबमोजिम निजी विद्यालयहरुले विद्यालयमा एक पटक भर्ना भएका विद्यार्थीलाई अर्को बर्ष भर्ना शुल्क लिन नपाउने व्यवस्था गरेको छ । तर, सो व्यवस्थाको खिल्ली उडाउँदै यहाँका अधिकांश विद्यालयले विद्यार्थीहरु संग धमाधम भर्ना शुल्क लिइरहेको र सरोकारबाला निकाय मौन बसेको गुनासो गर्दै अभिभावकहरुले यस्तो माग गरेका हुन् ।

राजविराज ७ निवासी रामाकान्त साहले स्थानिय ह्यापील्याण्ड सेकेण्ड्री स्कूलमा १० कक्षामा अध्ययनरत छोरा संग विद्यालयले एनुअल शुल्क तीन हजार, परीक्षा शुल्क दुई हजार पाँच सय, मासिक शुल्क तीन हजार नौ सय र कम्प्युटर शुल्क तीन सय ५० गरि कूल नौ हजार सात सय पचास रुपैया लिएको गुनासो गरे ।

यस्तै गुनासो राजविराज ५ का सावित्री झा, राजेश झा, राजविराज ८ का रमेश श्रेष्ठ, राजविराज ४ का भोला अन्सारी लगायत दर्जनौ अभिभावकले गरेका छन् । अर्का अभिभावक राजविराज ३ निवासी मो.जाकिर हुसैनले यहाँका अधिकांश निजी तथा आवासिय विद्यालयहरुले शिक्षा नियमावलीको नियम ५ र निशुल्क शिक्षा सम्बन्धि ऐन, दफा ५ को उपदफा ३ को व्यापक उल्लेघन गरेको भन्दै यसतर्फ अख्तियार दूरुपयोग अनुसन्धान आयोगको समेत ध्यान पुग्नुपर्ने बताए ।

यतिमात्र होईन । प्रत्येक बर्ष पुस्तक प्रकाशन संस्थाबाट पाईने कमिशनको लोभमा पाठ्यपुस्तक परिवर्तन गर्ने कार्यले आफूहरु माथि थप आर्थिक भार पार्ने काम भएको अभिभावकहरुको गुनासो छ ।
राजविराज ४ का अभिषेक साहले एक निजी विद्यालयमा ४ कक्षामा पढने छोराका लागि एक सेट पुस्तक किन्दा चार हजार रुपैया तिर्नु परेको बताए ।

सरकारी विद्यालयमा ४ कक्षामा पढने विद्यार्थीलाई निशुल्कै पुस्तक उपलब्ध हुने भएपनि निजि विद्यालयमा पढ्ने विद्यार्थीका लागि चार हजार रुपैया पुस्तकमै मात्र खर्चिनु पर्दा आफूहरु समस्यामा पर्ने गरेको उनले पीडा पोखे । केही निजी विद्यालयले त “फलानो पुस्तक पसलबाट पुस्त किन्नु” भन्दै विद्यार्थीलाई बुक लिस्ट दिने गरेको अर्का अभिभावक श्याम शर्माले सुनाए ।
प्रकाशन गृहबाट मोटो रकम कमिशन बापत लिने शर्तमा कमिशन प्रदान गर्ने प्रकाशन गृहको पुस्तक लगाउने काम खुल्लेआम भएको उनको भनाई छ ।

कतिपय विद्यालयहरुले त पाठ्क्रम विकास केन्द्रबाट स्वीकृति प्रदान नगरिएका पाठ्यपुस्तकहरु समेत आफूखुशी लगाएको अभिभावक उमाशंकर साहको भनाई छ । यसका अतिरिक्त सरकारले निर्धारण गरेको भन्दा दुई गुणा बढी सम्म पुस्तक किन्न लगाएर कलिला बालबालिकालाई पुस्तकको भारी बोकाएर भरिया बनाउने काम समेत गरिरहेको अभिभावकहरुको गुनासो छ ।

अनुगमन गर्ने निकाय मौन रहनाले यस्ता गतिविधि गर्नेहरु हौसिएको भन्दै अभिभावकहरुले अविलम्ब यस तर्फ सरोकारबाला निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार २०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको