लालगढ कुष्ठरोग अस्पतालको ओपीडी अब सातामा दुई दिन बन्द रहने



जनकपुरधाम, साउन ३१ । महोत्तरीको लालगढस्थित कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले आगामी असोज १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने भएको छ। यससँगै अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सातामा दुई दिन रहने भएको हो ।

नेपाल लेप्रोसी ट्रस्टद्वारा सञ्चालित अस्पतालमा हाल शनिबार मात्रै सार्वजनिक बिदा दिइँदै आएको थियो। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेका कारण आइतबार अस्पताल आउने बिरामीको संख्या घट्दै गएपछि अस्पताल सञ्चालक समितिले आइतबार पनि ओपीडी बन्द गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापनले जनाएको छ।

अस्पताल व्यवस्थापन प्रमुख सुमन तामाङका अनुसार सामान्य अवस्थामा दैनिक ४०० भन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन्। तर आइतबारसमेत सार्वजनिक बिदा हुने भएपछि अस्पताल बन्द हुने बुझाइका कारण आइतबार आउने बिरामीको संख्या घटेर १०० देखि १५० जनासम्म सीमित हुन थालेको थियो।

बिरामीको चाप घटेपछि बिहीबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि आइतबार पनि बिदा दिने निर्णय गरेको तामाङले जानकारी दिए।

नयाँ समयतालिकाअनुसार ओपीडीको टिकट वितरण बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। शुक्रबार भने ओपीडी सेवा साँझ ५ बजेसम्म सञ्चालन गरिनेछ। यसअघि टिकट वितरण बिहान ८ः३० देखि अपराह्न २ बजेसम्म र शुक्रबार सेवा साँझ ४ः३० बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो।

शनिबार र आइतबार ओपीडी बन्द भए पनि अन्तरङ्ग सेवा (आईपीडी) भने नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ। हाल आईपीडीमा ६५ जना बिरामी उपचाररत छन्।

अस्पतालका अनुसार आर्थिक वर्ष २०८२८३ मा ओपीडीमार्फत एक लाख दुई हजार ८२ जनाले सेवा लिएका थिए। सो अवधिमा ८७४ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए भने ६७० जनालाई आईपीडीमा भर्ना गरी उपचार गरिएको थियो।

नेपाल तथा भारतबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि आउने लालगढ अस्पतालले कुष्ठरोग उपचार तथा सेवामा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको