काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरे पछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले नेता नै पक्राउ परे पछि एकता घोषणा कार्यक्रम हाललाई स्थगित गरिएको बताएका छन । दुबै पार्टीमा छलफल गरेर अगामी रणनीति तय गर्ने उनले बताए ।
पहिचानवादी शक्तिहरू एक ठाउँमा आउन नदिनका लागि नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको उनले आरोप लगाएका छन ।
प्रवक्ता यादवले भने ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ ।’
चौधरीलाई एकता घोषणा कार्यक्रम शुरु हुनै लाग्दा प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।
राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
रेशम पक्राउको विरोधमा नाउपा र जनमतका कार्यकर्ताहरुले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरि रहेका छन ।



