काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठकमा बुधबार भारत–पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले यही विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाएका थिए।
एक सहभागीका अनुसार बैठकमा भारत(पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा ओलीले अन्य सहभागीहरूसँग छलफल गरेका थिए।
बैठकमा नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमासमेत छलफल भएको बुझिएको छ। त्यस्तै, बैठकमा नेपाल(भारत सीमा क्षेत्रको सुरक्षाका बारेमा समेत छलफल भएको र सेनाका तर्फबाट नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ भएको थियो।
बैठकमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।
उता गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गर्दै भारत(पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।



