राजविराज, बैशाख २७ । सम्बन्धीत निकायले चासो नदिदा यहाँका सडकपेटीमा मात्र होइन् झण्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसय गर्न थालेपछी पैदल यात्रु र सवारी आवागमनमा समेत समस्या भएको छ ।
हुलाकी मार्ग अन्तरगत राजविराजको अदालतदेखी राम मन्दिरसम्मको आधी किलोमिटर सडकखण्डमा सडकपेटी र सडक नै छेकेर फुटफाथे पसलेले पसल थापेपछी यस्तो समस्या देखिएको हो ।
यसरी सडकपेटी र सडक नै छेकेर कारोवार गर्नेहरुमा तरकारी र फलफुल व्यवसायीदेखी चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछी ओहोर दोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयवासी बलदेव मण्डलले सुनाए ।
उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ । एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ ।
यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ ।
पैदलयात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर संचालनमा ल्याइएका यस्ता पसलहरु अविलम्ब हटाउनु पर्ने स्थानीयको माग छ ।



