श्याम कुमार ठाकुर
सिरहा, जेठ २ । मिर्चैया नगरपालिकाको आयोजनामा नगर स्तरीय प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बिष्णु रन्जन बरालको अध्यक्षतामा भएको उदघाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख श्रवण कुमार यादवले प्रतियोगिताको उद्घाटन गरेका छन ।
वडा स्तरीय कुल १२ वटा टिम सहभागी रहेको प्रतियोगिता जेठ १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई नगद रु १ लाख १ हजार र उपविजेता टोलीलाई नगद रु ५१ हजार र कप प्रदान गरिने छ ।
युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको नगरपालिकाको जिन्सी प्रमुख श्रवण महतोले जानकारी दिए । नगर प्रमुख श्रवण यादवले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
मोहन उ.मा.वि मिर्चैयाको खेल मैदानमा भएको उद्घाटन समारोहमा मिर्चैया अस्पतालको मेसु शरिका गोईत, विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी, समाजसेवी, राजनीतिकर्मी लगायतको उपस्थिति रहेको थियो ।






