सुनियोजित रुपले घटना गराइएको आरोप



जनकपुरधाम, जेठ ३ । जनकपुरधाम स्थित जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.द्वारा सञ्चालिन वंडरलैंड वाटर पार्कमा शनिवार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले सुनियोजित रुपमा घटना गरेको आरोप लगाइएको छ । वंडरलैंड पार्क सञ्चालक गुड्डु जैनले जारी गरेको विज्ञप्ति र आयोजक कृष्णा फाउण्डेशनले गरेको पत्रकार सम्मेलन मार्फत सो आरोप लगाइएको छ ।

शनिवार कृष्णा फाउण्डेशनले कक्षा १२ को परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुकालागि आयोजना गरेको ग्रेण्ड फेयरवेल सेलिव्रेसन कार्यक्रममा सुनियोजित रुपले रजिष्ट्रेशन फर्म नभरेकाहरु पुगेपछि भीड अनियन्त्रित भएको थियो । कृष्णा फाउण्डेशनले रजिष्ट्रेशन शुल्क वापत मात्र १०० रुपैयाँ प्रति विद्यार्थी शुल्क लिएको फाउण्डेशन र वंडरलैंड वाटर पार्क सञ्चालक जैनको दावी छ ।

शनिवार विहान ९ बजे देखि साढे १० बजे भित्र सो पर्कमा प्रवेश गरिसक्नु पर्ने व्यवस्था गरिएको थियो । तर, रजिष्ट्रेशन गरिएका विद्यार्थीहरु भन्दा धेरै बढी संख्यामा विद्यार्थीहरु आएपछि भीड अनियन्त्रित भएको जनाइएको छ । आयोजकले विद्यार्थीको एडमीट कार्ड र रसिद चेक गर्दै प्रवेश गर्ने व्यवस्था समेत मिलाएका थिए ।

प्रवेश द्वारमा अनियन्त्रित भीडलाई आयोजकले नियन्त्रण गर्न नसकेपछि वंडरलैंड वाटर पार्कमा सेक्यूरिटी गार्डहरुले सक्रियता देखाएको पार्क सञ्चालकको दावी छ । पछि प्रहरीलाई बोलाउँदा प्रहरी र विद्यार्थी वीच नै झडप भएको थियो जसमा पाँच जना प्रहरी घाइते भएका थिए । प्रहरीले १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पार्क सञ्चालक जैनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘तोडफोडवाट पार्कमा भएको क्षतिको विवरण संकलनको काम जारी छ, अराजक गतिविधिमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको अवस्थामा हामी यस घटनामा संलग्न अन्य दोषीहरुलाई समेत पक्राउ गरी कारवाहीकालागि सम्वन्धित निकाय संग माग गर्दछौं ।’

यता, कृष्णा फाउन्डेशनले शनिवार वाटरपार्कमा भएको घटनाको दोषीलाई कारबाही गर्न माग गरेको छ । फाउन्डेशनका उपाध्यक्ष सुजितकुमार कर्णले पत्रकार सम्मेलन गरी वाटरपार्कमा भएको घटनाको दोषीलाई कारबाही गर्न माग गरेका छन् । फाउण्डेशनले रजिष्ट्रेशन गराएका विद्यार्थीहरुका १०० रुपैयाँ फिर्ता गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको