प्रदीप यादवमाथि संसदीय छानबिन समिति गठन गर्न प्रभु साहको माग



काठमाडौँ, जेठ ४ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवमाथि गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

आईतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष साहले खानेपानी मन्त्रालयमा भइरहेको भ्रष्टाचार, अनियमितता र मनोमानी कार्यको प्रसंग उठाउँदै मन्त्री यादवले व्यक्तिगत स्वार्थमा इन्जिनियरको सरुवा तथा अधिकार खोसेको आरोप लगाए । उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा कार्यरत निमित्त आयोजना प्रमुख इन्जिनियर दिपेन्द्र कुमार साहको सरुवाको विषय संसदमा उठाउँदै छानबिन हुनुपर्ने माग गरे ।

सांसद साहका अनुसार, चैत १९ गते जनकपुरमा पोष्टिङ प्राप्त गरेका इन्जिनियर साहले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको तीन दिनमै मन्त्रालयका कर्मचारीको दबाबका कारण सरुवा गरिएको हो । उनले आरोप लगाए कि मन्त्री यादवका पिए तथा निकट व्यक्तिहरूले योजनामा हस्तक्षेप गर्दै ठेक्का, करार तथा उपभोक्ता समितिमा अनियमितता गर्न दबाब दिएका थिए ।

सांसद साहले भने, एक जना राष्ट्रभक्त कर्मचारी, जसले १२ वर्ष राष्ट्रिय सतर्कता केन्द्रमा सेवा दिएका छन्, उनले संसदमा न्यायको गुहार माग्नुपर्ने स्थिति आएको छ । सरकारको सुशासनको दाबी यहीं धराशायी भएको छ । इन्जिनियर साहले आजपा अध्यक्षलाई बुझाएको पत्र संसदमा वाचन गर्दै प्रभु साहले मन्त्री यादवले जनताको स्वास्थ्यसँग जोडिएको खानेपानी परियोजनामा व्यक्तिगत लाभ लिन खोजेको र त्यसको विरोध गर्दा सरुवा गरिएको दाबी गरे ।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको