राजविराज, जेठ ९ । काग्रेस नेतृ मालती देवी साह (स्वर्णकार) को शुक्रबार कोशीघाटमा अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम बिदाई र श्रद्धाञ्जली व्यक्त गर्न स्थानीय नेता/ कार्यकर्ता र शुभेच्छुकको निवास स्थालमा भीड लागेको थियो ।
राजविराज ४ निवासी ७१ वर्षिया साहको दुई दिनअघि उपचारकै क्रममा स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको थियो । उनी केही समय यता अस्वस्थ्य रहदै आएको परिवारजनले जनाएको छ ।
२०५२ सालमा उनी नेपाल महिला संघ सप्तरीको अध्यक्ष भई राजनीतिमा सक्रिय थिइन् । उनको निवासमा महाधिवेशन प्रतिनिधि मालती चौधरी, शुशिल सेवा, प्रदेश २ (ख) का उपसभापति अजय सिंह, युवा नेता इरसाद अन्सारी लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गरेपछी उनको पार्थिव शरीर हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी किनारको कोशी घाटमा पु¥याइएको थियो । जहाँ जेठा छोरा राजेश साह “पिन्टु” ले दागवत्ति दिए ।
नेपाली काँग्रेस सप्तरीले उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलले शुक्रबार एक शोक वक्तव्य जारि गर्दै महिला नेतृ साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको समेत उल्लेख गरेका छन् ।



