बारा, जेठ १५ । १२औं स्थापना दिवस अवसरमा घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले संस्थागत विद्यालयमा पठन पाठन गर्ने छात्रछात्राहरुलाई सहयोग गरेको छ । समुदायसँग घण्टीमाई मुख्य नारा सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ४, औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले आफनो १२औं स्थापना दिवस मनाएको छ ।
१२औं स्थापना दिवस अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी संस्थाले फरदवामा अवस्थित बाल मैत्री विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको संस्थाका कार्यालय साहयक मिना ढकालले जानकारी दिईन् ।
शैक्षिक सामग्रीमा कपी, पेन्सिल, ईरेजर, सापनर, चार्ट पेपर लगायत रहेका छन् । बिद्यार्थीहरुलाई घण्टीमाई साकोसका उपाध्यक्ष त्रिलोक साह ठकुरीले शैक्षिक सामग्री बिद्यालयलाई हस्तान्तरण गरेका थिए । यस कार्यक्रमले बालबालिकामा सिकाइप्रति उत्साह बढाउने विश्वास गरिएको घण्टीमाई साकोसकी अध्यक्ष कोपिला सिम्खडाले बताईन् ।
कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय अभिभावक, विद्यालय परिवार तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।






